अमेरिकामा विश्वशान्ति ज्ञानमहायज्ञ–२०२६ अन्तर्गत श्रीमद्देवीभागवत कथा–प्रवचन आयोजना हुने
ओहायो, अमेरिका। विश्व भूटानी हिन्दु सङ्गठन (GBHO) को आयोजनामा विश्वशान्ति ज्ञानमहायज्ञ–२०२६ को वार्षिकोत्सवको अवसर पारेर अमेरिकाको ओहायो राज्यस्थित दिव्य धाम ॐ सेन्टरमा भव्य श्रीमद्देवीभागवत कथा–प्रवचन आयोजना हुने भएको छ।
आयोजकका अनुसार आगामी जुलाई ६ देखि १२, २०२६ सम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा अन्तर्राष्ट्रिय कथावाचिका तथा श्रीराधिकाजी दासीज्यूको मुखारविन्दबाट श्रीमद्देवीभागवत महापुराणको दिव्य कथा–प्रवचन हुने छ।
धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्दै विश्वशान्ति, मानव कल्याण र सनातन धर्मको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा अमेरिका तथा विभिन्न देशमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी, भक्तजन तथा धर्मप्रेमी समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
सात दिनसम्म सञ्चालन हुने यस ज्ञानमहायज्ञमा देवीभागवत महापुराणका आध्यात्मिक रहस्य, धर्म, संस्कार, नैतिक शिक्षा तथा जीवनोपयोगी सन्देशहरू प्रस्तुत गरिनेछन्। आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई कथा–श्रवण गरी आध्यात्मिक लाभ लिन हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम दिव्य धाम ॐ सेन्टर, 4270 State Route 309, Galion, Ohio 44833, USA मा आयोजना हुने जनाइएको छ।
“विश्वशान्ति, आध्यात्मिक जागरण र सनातन संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको यस पवित्र महायज्ञमा सहभागी बनौँ।” भन्ने सन्देशका साथ आयोजकले सम्पूर्ण समुदायलाई सादर निमन्त्रणा दिएको छ।

0 comments:
Post a Comment